त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत
काठमाडाैं | भदौ ७, २०८०
बुधबार त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका आठै जनाको सनाखत भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार आज बिहानसम्म सबै मृतकहरूको सनाखत भएको हो।
मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका-६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका-५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन्।
बुधबार बिहान काठमाडौंबाट वेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेछहरामा सडकबाट त्रिशुली नदीमा खसेको थियो।
चालक र सहचालक गरी बसमा २५ जना सवार थिए। तीमध्ये बाग्लुङ गलकोटका ६८ वर्षीया बुढामगर सामान्य उपचार गरी डिस्चार्ज भएका छन् भने बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरिएको थियो।
दुर्घटनामा १५ जना घाइते भएका छन्। उनीहरूलाई काठमाडौं ल्याई विभिन्न अस्पताल भर्ना गरिएको छ। एसपी गौतमका अनुसार नौ जनाको ट्रमा सेन्टर, चार जनाको वयोधा हस्पिटल, एक जनाको मेडिसिटी र एक जनाको बिएन्डबी अस्पालतमा उपचार भइरहेको छ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको गरूंगा गाउँपालिका- ७ का २९ वर्षीय प्रविन पुन, ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेश बस्ने सुदीप मण्डल, बेनी नगरपालिका-३ का २९ वर्षीय गौतम छन्त्याल छन्।
अरू घाइतेहरूमा पर्वतको मोदी गाउँपालिका-१ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका-६ का ३० वर्षीय दीपक थापा, बेनी नगरपालिका-३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका- १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका-९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका-२ का १६ वर्षीया गीता जग्जाली छन्।
त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका-६ की २३ वर्षीया रिना रानामगर घाइते छन्।
साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

